Nations Khabar
Banner_News अन्तर्वार्ता अर्थ खेलकूद मनोरन्जन राजनीति विचार

कृषि औजार कारखाना सञ्चालनमा अन्योल

नेशन्स खबर । दुई दशकदेखि बन्द रहेको वीरगञ्जस्थित कृषि औजार कारखाना सञ्चालनमा ल्याउने तयारी भइरहँदा बजेट अभावको कारण सञ्चालन प्रक्रियामा अन्यौलता देखिएको छ । राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले १० वर्षसम्म कारखाना सञ्चालनको जिम्मा लिएर मर्मत सम्भारको कार्यलाई तीव्रता दिए पनि अर्थ मन्त्रालयले समयमा बजेट निकास नगर्दा कारखाना सञ्चालन पुनः अन्यौलमा परेको छ ।

पूर्व राजा स्वर्गीय महेन्द्रले तत्कालीन सोभियत सङ्घको आर्थिक तथा प्राविधिक सहयोग र नेपाल सरकारको संयुक्त लगानीमा वि.स २०२४ साल फागुन २८ गते वीरगञ्जमा कृषि औजार कारखानाको स्थापना गर्नुभएको थियो । तत्कालीन समयमा वार्षिक ११ करोड रुपैयाँसम्मको कारोबार हुने गरेको कृषि औजार कारखाना २०५९ साल चैत ४ गते नेपाल सरकारको मन्त्रिपरिषद् बैठकले बन्द गर्ने निर्णय गरेको थियो ।

२०७९ असोज ११ गते अर्थ मन्त्रालय र राष्ट्रिय आविष्कार केन्द्रबिच कारखाना सञ्चालनको सम्झौता भएपछि वीरगन्जवासीमा उद्योग सञ्चालन हुने आशा पलाएको थियो । तर सरकारले बजेट निकासा नगर्दा पलाएको आशा निराशामा परिणत हुने त होइन भन्ने आशङ्का छाएको कारखानाका पुराना कर्मचारीहरू बताउँछन् ।

स्थापनाकालदेखि नाफामा रहँदै आएको कारखानामा राजनीति दलको हस्तक्षेपको कारण डुब्दै गएपछि बन्द भएको थियो । केन्द्रले पहिलो चरणमा कारखाना सरसफाइ गरी मेसिनहरू चेकजाँच सम्पन्न गरेको छ । सम्झौता अनुरुप १ वर्षभित्र मर्मत सम्भार गर्ने भनिए पनि केन्द्रले ६ महिनामै कारखानामा रहेका मेसिनहरूको चेकजाँच गरी परिक्षण उत्पादन समेत गरेको छ ।

कारखानामा रहेका मेकानिकल सेक्सनका ५४ मेसिनहरू सबै चल्न योग्य रहेको आविष्कार केन्द्रका प्राविधिकहरूको भनाइ छ । उद्योगमा रहेका १२ वटा लेथ मेसिन, परिव पम्पसेट सेक्सनका मेसिन लगायतमा भने आधुनिक मेसिन जडान गर्नुपर्ने कृषि औजार कारखानामा कार्यरत राष्ट्रिय आविष्कार केन्द्रका इन्जिनियर प्रज्वल कोजुले बताउनुभयो ।

कारखाना मर्मत सम्भारमा हुने खर्चहरू सरकार आफैँले बेहोर्ने सम्झौता भए पनि बजेटको अभावको कारण काममा समस्या भइरहेको उहाँले बताउनुभयो । अहिले नेपाल सरकारको सहयोग बिनै केन्द्रले आफ्नै लगानीमा मेशिनहरूलाई आवश्यक पर्ने पार्ट पुर्जा आफैँ खरिद गरिरहेको छ । कारखानालाई आवश्यक पर्ने बजेटको माग गरिए पनि अर्थ मन्त्रालयबाट कुनै जवाफ नआएको गुनासो आविष्कार केन्द्रका प्राविधिकहरूको छ ।

Related posts

वीरगञ्जमै पहिलो पटक आर्दशनगरदेखि बसपार्कसम्म रात्री बजार लगाउने तयारी

admin

वीरगन्ज महानगरले सामुदायिक विद्यालयमा अंग्रेजी माध्यम लागू गर्ने

Nations Khabar

नेपाल प्रहरीको प्रमुखमा वसन्तबहादुर कुँवर नियुक्त

रंजित यादव

Leave a Comment

Translate »